नेपाल शिक्षक महासङ्घ र सरकारबीच गएराति भएको वार्ता सहमति नजिक पुगेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा राति अबेरसम्म भएको दुईपक्षीय बैठकले मन्त्रिपरिषदबाट निर्णय गरी आउँदो बजेटमा शिक्षकका माग सम्बोधन गर्ने गरी सहमतिको प्रारम्भिक खाका तयार गरेको हो ।
अस्ति सोमवार भएको बैठकमा पूर्व शिक्षामन्त्री विद्या भट्टराईले तयार पारेको सात बुँदामा छलफल भएको थियो । त्यसमा थप दुई वटा थपेर नौ बुँदा बनाइ गएराति छलफल भएको र अब यसलाई अन्तिम रुप दिने तयारी छ ।
महासङ्घका प्रदेश र जिल्ला अध्यक्षसँग सहमति लिएर मात्र सहमतिमा हस्ताक्षर गर्ने र आन्दोलन स्थगन गर्ने महासङ्घका उपमहासचिव रामप्रसाद ढकालको भनाइ छ ।
शिक्षक आन्दोलनका कारण देशभरका सामुदायिक विद्यालयमा शैक्षिक सत्र–२०८२ को शुरूदेखि नै पठनपाठन प्रभावित हुँदै आएको छ ।
शिक्षक महासङ्घले गएको चैत २० गतेदेखि गर्दै आएको आन्दोलनको आज २९ दिन भइसकेको छ ।